सपना र वास्तविकता बीचको युवा पुस्ता

देश भनेको केवल भूगोल वा सीमारेखा मात्रै नभएर त्यो उसको सपना हो र परिवार तथा राष्ट्रप्रतिको जिम्मेवारी पनि हो । त्यो सपना साकार पार्ने सबैभन्दा ठूलो शक्ति युवाशक्ति हो। नेपाल जस्तो मुलुकमा जहाँ जनसंख्याको लगभग ४३ प्रतिशत युवाको जनसंख्या रहेको छ ।त्यहाँ देशको भविष्य युवाको सोच, कर्म र प्रतिबद्धतामा निर्भर हुन्छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा सम्पूर्ण युवाहरूलाइ हार्दिक शुभकामना ।
युवा उमेरको ऊर्जा केवल उमंगका लागि होइन, सकारात्मक परिवर्तनका लागि हो। समाजमा देखिने अन्याय, विभेद, र कुसंस्कार तोड्ने साहस युवासँग हुन्छ। सडकमा, विद्यालयमा, गाउँमा वा शहरमा -जहाँ परिवर्तनको आवश्यकता हुन्छ, त्यहाँ युवाको उपस्थिति अनिवार्य हुन्छ।
देशलाई आर्थिक रूपमा सबल बनाउने क्षमता युवाले राख्दछन। खेतमा अन्न फलाउने हात, उद्योगमा उत्पादन गर्ने सीप, व्यवसायमा नवप्रवर्तन ल्याउने सोच, र प्रविधिमा नयाँ सम्भावना सिर्जना गर्ने क्षमता सबै युवासँग हुन्छ। चाहे देशमै उद्यम गरेर होस् वा विदेशमा सीप बेचेर, युवाले गरेको आम्दानीले राष्ट्रलाई बलियो बनाउँछ।
आजको संसार प्रतिस्पर्धा र प्रविधिको हो। यसमा युवाको गति र सोच दुवै तीव्र हुन्छ। मोबाइल एप विकासदेखि डिजिटल शिक्षा, अनलाइन व्यवसायदेखि स्मार्ट कृषि(यी सबैमा युवाको हात छ। यो केवल कमाइको माध्यम मात्र होइन, देशलाई विश्व स्तरमा पुर्याउने सिँढी हो।
विश्वले नेपाललाई केवल हिमालको देश भनेर मात्र चिन्नु हुँदैन। हाम्रो संस्कृति, भाषा, कला र परम्पराले हामीलाई भिन्न बनाउँछ। यी सम्पदालाई नयाँ ढंगमा प्रस्तुत गरेर संसारभर फैलाउने काम पनि युवाले गर्न सक्छन् - गीत, कला, पर्यटन र मिडियामार्फत।
देशको दिशा सही बनाउन नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ। तर नेतृत्व केवल कुर्सीमा बस्ने कुरा होइन, जिम्मेवारी लिन सक्ने क्षमता हो। युवा नेतृत्वले पारदर्शिता, जवाफदेहिता र दीगो विकासलाई प्राथमिकता दिन सक्छ।
युवाशक्ति भनेको केवल उमेरको कुरा होइन, सोचको कुरा हो। आफ्नो देशलाई माया गर्ने, उसको पीडा बुझ्ने र समाधानका लागि जुट्ने मनोवृत्ति नै सच्चा युवाशक्ति हो। यदि सबै युवाले कलमलाई ज्ञानका लागि, हातलाई सीपका लागि, र मनलाई देशका लागि समर्पित गर्यो भने — विकास केवल सम्भावना होइन, वास्तविकता बन्छ।
युवाशक्ति देशको भविष्य हो भन्ने कुरा निर्विवाद छ, तर हरेक पुस्तासँग केही चुनौती र कमजोरीहरू पनि हुन्छन्। अहिलेको पुस्तामा देखिएका केही नकारात्मक पक्षहरूलाई स्वीकार गरेर मात्र हामी सुधारको बाटोमा अघि बढ्न सक्छौं।
सबैभन्दा ठूलो चुनौती युवामा अत्यधिक महत्वकाँक्षा र छिटो नतिजा खोज्ने प्रवृत्ति हो । धेरै युवाहरू मेहनत, धैर्यता र दीर्घकालीन योजनाभन्दा छिटो पैसा, सुविधा र सफलता खोज्ने मानसिकतामा छन्। यसले दीर्घकालीन प्रगतिको आधार कमजोर बनाउँछ।
अर्को चुनौती विदेशप्रतिको अत्यधिक आकर्षण हो। रोजगारी, पढाइ वा आर्थिक कारण देखाएर ठूलो संख्यामा युवाहरू विदेशिने क्रम बढिरहेको छ। यो एकातिर व्यक्तिगत अवसर हो भने अर्कोतिर देशभित्रको उत्पादनशील श्रमशक्ति घट्ने खतरा पनि हो।
सामाजिक संजालको बढी प्रयोग पनि युवाहरूमा देखिएको अर्को समस्या हो। जानकारी र सम्पर्कको लागि उपयोगी भए पनि, धेरैले यसलाई समय खर्च गर्ने, सतही प्रसिद्धि खोज्ने, र विलासिताको दुनियाँमा हराउने माध्यम बनाएका छन्। यसले वास्तविक जीवनको सीप, अनुशासन र सामाजिक सम्बन्ध कमजोर बनाउँछ।
राजनीतिक ध्रुवीकरण पनि एउटा चुनौती हो। धेरै युवाहरू विचारभन्दा बढी पार्टीगत भावनामा बग्छन्, जसले स्वतन्त्र सोच, तर्कशक्ति र तथ्यमा आधारित निर्णय क्षमतामा असर पार्छ।
त्यसैगरी मादक पदार्थ र अस्वस्थ जीवनशैलीतर्फको आकर्षण, पढाइ र सीप विकासमा ध्यानको कमी, र आत्मअनुशासनको अभाव पनि युवाहरूको भविष्यमा नकारात्मक असर पार्ने पक्षहरू हुन्।
एउटा युवा शिक्षक कडा मेहनत र परिश्रम गरेर आफ्नो पेशा अपनाउँछ, तर विद्यालयमा नपढाएर मात्र जागिर खाने सोच राख्छ। अर्को युवा सरकारी कर्मचारी हुन्छ र रातारात सम्पत्ति आर्जन गर्ने सपना देख्छ। एउटा युवा व्यापारी राज्यलाई कर छल्ने योजना बनाउँछ। त्यस्तै, एउटा युवा नेता सिद्धान्त र आदर्शको राजनीति भन्दा चाप्लुसी र चाकडिको राजनीतिमा रमाउछ ।
केही समययता सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा हत्या हिँसा र वलात्कार सम्बन्धि अनेक घटनाहरूले चर्चा पाएका छन्। ति अधिकाँस घटनाहरूमा युवाहरूको संलग्नता छ । यी घटनाहरूले केवल व्यक्तिगतरूपमा पीडितहरूलाई मात्र असर गरेको छैन, सम्पूर्ण समाजको मनोविज्ञान र नैतिकतामा गहिरो प्रश्न खडा गरेका छन्।
केही साता अघि नेपालगञ्जमा घटेको घटनामा आफ्नै केटी साथीको घाँटी रेटेर हत्या भयो। दैलेखका एक युवाले विदेशमा कमाएको सम्पूर्ण आम्दानी गर्लफ्रेन्डको नाममा पठाए, तर विवाहको सम्झौता पुरा नभएपछि महिला साथीले उल्टै पुरुष साथीको हत्या गरिन्। केही समयअघि कैलालीमा एक युवाले होटलमा काम गर्ने अर्को महिला साथीको हत्या गरे। त्यसैगरी, कैलालीमै एक होटलमा ‘आफ्नो परिवार हो’ भन्दै दिउँसो कोठा भाडामा लिएर बसेका युवाले केटीलाई बेहोस बनाएर गहना लुटेर फरार भए।
यतीमात्रै होइन, तीज मनाएर घर फर्कँदै गरेकी एक बालिकालाई लखेटेर बलात्कार गरिएको घटनाले समाजलाई पुनः स्तब्ध बनायो। यिनैबीच सामाजिक सञ्जालमा युवाहरूको अराजक व्यवहार, उछृंखल शैली र अश्लील प्रस्तुतिहरू सामान्यजस्तै देखिन थालेका छन्। श्रम, रोजगारी र नवप्रवर्तनमार्फत समाजमा योगदान दिने युवाभन्दा पनि हो(हल्ला गर्ने, अराजक प्रवृत्ति देखाउने, लागूपदार्थ र दुर्व्यसनको सेवन गर्ने र संस्कार–संस्कृति विपरीत व्यवहार गर्ने युवाहरूको संख्या बढी देखिन थालेको छ।
यी घटनाहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्—युवाको परिभाषा उमेरका आधारमा गर्ने कि सोच, व्यवहार, सिर्जनशिलता र जिम्मेवारीका आधारमा गर्नेरु उमेरले त उनीहरूलाई ‘युवा’ बनाउँछ, तर सोच र आचरणले उनीहरूलाई समाजको प्रेरणादायी शक्ति होइन, बरु भय र असुरक्षाको कारण बनाइदिएको छ।
आज देखिएका यी घटनाहरू केवल अपराधको तथ्य मात्र होइनन्स यी हाम्रो समाजका नैतिक मूल्य, संस्कार र भविष्यको दिशाबारे गम्भीर चेतावनी हुन्। जब युवापुस्ता नै अराजकता, हिंसा र गैरजिम्मेवारीको अग्रपंक्तिमा देखिन थाल्छ, तब विकास र समृद्धिको सपना केवल नारामा सीमित हुन सक्छ।
त्यसैले युवालाई सकारात्मक मार्गमा लैजाने शिक्षा, नैतिक प्रशिक्षण र अवसरको आवश्यकता अत्यन्तै महत्वपूर्ण छ। यस्ता घटनाहरूले युवाहरूको नकारात्मक पक्ष मात्र देखाउँदैनन्स यो प्रतिनिधित्वमा आधारित सार्वजनिक विश्वासमा समेत धक्का पुर्याउँछ।
यसलाई सम्बोधन गर्न शिक्षा, परिवार, समाज र सरकार सबै तहमा नैतिक शिक्षा र उत्तरदायित्व प्रवर्द्धन गर्न आवश्यक छ। यस्ता कमजोरीहरूलाई नदेखेझैँ गर्नु समाधान होइनस बरु, यी समस्यालाई सचेततापूर्वक स्वीकारेर शिक्षा, मार्गदर्शन र आत्मअनुशासनको अभ्यास मार्फत युवाशक्तिलाई सही दिशामा प्रवाहित गर्न सकिन्छ। यसरी मात्र उनीहरू देशको विकासमा अझ बलियो योगदान दिन सक्षम हुन्छन्।
सामाजिक अभियान्ता अधिकारी समसामयीक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया