गुराँस गाउँपालिकामा १६३ जना जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण

दैलेख - गुराँस गाउँपालिकामा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ। सेभ द चिल्ड्रेन, सोसेक नेपाल दैलेख र गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत विशेष संरक्षण आवश्यक भएका १६३ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको हो।
खाद्यान्न वितरण गाउँपालिकाका आठै वडामा सम्पन्न गरिएको थियो । सोसेक नेपालका अनुसार वडा नं. १ मा २४ जना, वडा नं। २ मा २६ जना, वडा नं. ३ मा २४ जना, वडा नं. ४ मा २६ जना, वडा नं। ५ मा २५ जना, वडा नं। ६ मा २६ जना, वडा नं. ७ मा १३ जना र वडा नं. ८ मा १२ जना गरी कुल १६३ जना बालबालिकालाई खाद्यान्न उपलब्ध गराइएको हो।
वडा नं. ७ र ८ का बालबालिकालाई प्रति व्यक्ति दुई बोरा चामल, पाँच लिटर तेल र दुई किलो दाल वितरण गरिएको छ भने वडा नं. १ देखि ६ का बालबालिकालाई प्रति व्यक्ति एक बोरा चामल, एक पोकाको तेल र पाँच किलो दाल प्रदान गरिएको परियोजनाका फील्ड अफिसर कस्तुरा बिसीले जानकारी दिइन् ।
वडा नं. ६ का वडा अध्यक्ष चन्द्रबहादुर रानाले सहयोगले बुबा–आमा नभएका तथा अरूको संरक्षणमा रहेका बालबालिकालाई ठूलो राहत पुगेको भन्दै संस्थाप्रति धन्यवाद व्यक्त गरे । यस्तै, बालबालिकाका अभिभावक तुलछा वुडाले पाएको सहयोगले केही दिनका लागि भए पनि राहत मिलेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्ने धारणा राखिन्।
प्रतिक्रिया