एक महिने बर्षे मेला सम्पन्न

दैलेख: दैलेखमा करिब तिन सय बर्ष देखि सञ्चालन हुँदै आएको महत्त्वपूर्ण संस्कृति मानिने एक महिने लामो बर्षे मेला सम्पन्न भएको छ । जनविश्वास अनुसार अन्याय,अत्याचार र असत्य मौलाउँदै गएमा श्रीकृष्णको जन्म हुने मान्यता रहेको छ।यही विश्वासअनुसार शनिवार राति १२ बजे श्रीकृष्णको जन्म गराई आइतबार कृष्णले लाखेको वध गरेपछि मेला औपचारिक रुपमा सम्पन्न गरिएको हो।
श्रावण ७ गते देखि भाद्र १ गते सम्म सञ्चालन हुने मेला धार्मिक तथा सांस्कृतिक रुपमा निकै महत्त्वपूर्ण पर्वको रुपमा रहेकाले पनि कुनै औपचारिकता बिनानै स्वतःस्फूर्त मेलाको आयोजना हुने न्यू ज्वाला क्लबका अध्यक्ष विशाल सुनारले जानकारी दिए।उनका अनुसार सर्वाधिक लोकप्रिय र सबै भन्दा लामो समय अर्थात् झन्डै एक महिना सम्म चल्ने यो मेलाको विशेषताको रुपमा लाखे नाच,गाईजात्रा, रोपाई जात्रा,बाघ जात्रा,राउटे जात्रा,वैरागी जात्रा हुँदै कृष्ण जन्माष्टमीमा आएर बिधिवत रुपमा मेलाको समापन हुन्छ।
कुनै लिखित अथवा दस्ताबेज नभेटिएको भए पनि दैलेख सदरमुकाममा बर्षे मेला सञ्चालन हुन थालेको करिब ३ सय बर्ष पहिले देखिनै भएको मानिन्छ । सुरुवाती दिनहरुमा पुरानो बजार क्षेत्रमा बसोबास गर्ने ७० घर धुरीहरूले तिरो मिनाहाको लागि सुरुवात गरेको बताइने भए पनि कालान्तरमा बजारको आकारमा भएको तीव्र बिस्तार र राजनीतिक परिवर्तन पश्चात् अवस्था फगत सांस्कृतिक परम्पराको रुपमा निरन्तर चलिआएको उनी बताउँछन्।
सञ्चालन सन्दर्भमा समुदायकै सहभागिता हुने भए पनि सस्थाहरुले नै मेलालाई व्यवस्थित गर्दै आएका छन् । न्यू ज्वाला क्लब पुरानो बजार,भगवती युवा क्लब भगवती टोल,एभरेस्ट क्लब नयाँ बजार र सुनगाभा युवा क्लब गणेश टोल गरी ४ वटा स्थानीय क्लबहरूले सञ्चालन गर्दै आएको छन् । मेला आइतबार पुरानो बजारको खुल्ला मञ्च टुँडिखेलमा र जिल्ला प्रहरी कार्यालय पछाडी छात्रवास र गणेशचौकमा लाखेको बिर्षजन गरिएको थियो ।
मेला अवधिभर हुने विभिन्न झैँ झगडा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले विशेष सुरक्षा सतर्कता अपनाएका कारण कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
प्रतिक्रिया