जन्मिएकै दिन आमा गुमाएकी शिशुको पनि मृत्यु, परिवारले बुझेन शव

जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको लेखा शाखामा कार्यरत दीपक नेपालीलाई असार १० गते बिहान ७ बजे काठमाडौंको सिभिल अस्पतालबाट पत्नी लक्ष्मीले फोनमा भनेकी थिइन्, “मेरो चिन्ता नगर्नू, सबै ठीक छ।”
दैलेखकै नारायण नगरपालिका-२, जहारकोटकी ३० वर्षीया लक्ष्मी गर्भवती थिइन् र केही बेरमै उनलाई प्रसूति गराइँदै थियो। आफ्नो तेस्रो सन्तानलाई स्वागत गर्न दीपक आफैं आउन चाहन्थे। तर आर्थिक वर्ष समाप्तिको वेला भएकाले कार्यालयमा चटारो थियो। त्यसैले असार २५ तिर सुत्केरी बिदा लिएर काठमाडौं पुग्ने योजनामा थिए।
त्यति वेलासम्मको परीक्षणमा आमा र पेटमा रहेको बच्चामा कुनै जटिलता नदेखिएकाले र हेरचाहका लागि साथमा भाइबुहारी रहेकाले उनी ढुक्क पनि थिए।
‘डेलिभरी’ का लागि पहिले असार १७ मा आउन भनेको अस्पतालले ४ गते फेरि सोध्न जाँदा ९ गते नै डाकेको थियो। सो दिन उनी दिउँसो ३ बजेतिर वार्डमा भर्ना भइन्। दीपकका अनुसार चिकित्सकले त्यति वेलासम्म लक्ष्मीको सबै अवस्था सामान्य रहेको बताएका थिए।
भोलिपल्ट बिहान फोन गर्दा पत्नीले पनि त्यसै भनेकी थिइन्। उनीहरूले गर्भावस्थाको शुरूदेखिकै जाँच सिभिल अस्पतालमै गराएका थिए। त्यो संवादको एक घण्टापछि ८ बजेतिर लक्ष्मीले छोरी जन्माइन्, सामान्य रूपमा। छोरी नै चाहेका दीपकको हर्षको सीमा रहेन। तर त्यो खुशी जम्मा दुई घण्टा टिक्यो। १० बजेतिर अस्पतालबाट फोन आयो। अस्पतालका कर्मचारीले लक्ष्मीलाई अत्यधिक रक्तस्राव भएकाले तत्काल अपरेशन गरेर पाठेघर फालिहाल्नुपर्ने सुनाए।
दीपक तुरुन्त कार्यालयमा बिदा मागेर मोटरमा दुई घण्टा टाढाको सुर्खेततिर लागे। त्यहाँ पुगेपछि प्लेनको टिकट काटे, तर साँझको मात्र रहेछ। त्यहाँ छउन्जेल उनले आत्तिंदै छिनछिनमा पत्नीको अवस्थाबारे जानकारी लिइरहे। दिउँसो साढे १२ बजेतिर अपरेशन सकिएको खबर आयो। उनका अनुसार आफन्तलाई अस्पतालले लक्ष्मीको होश भोलिपल्ट मात्र खुल्ने बताएको थियो।
त्रिभुवन विमानस्थलमा झरेपछि दीपक सीधै सिभिल अस्पताल पुगे। तर उनी पुग्दा अस्पतालले लक्ष्मीलाई मृतक घोषणा गरिसकेको रहेछ। कारण दिइयो, अपरेशनपछि पनि रक्तस्राव नरोकिएको। १३ र ९ वर्षका बालख छोरा छेउमै सुँक्कसुँक्क गरिरहेका थिए। दीपक अस्पतालमै डाँको छाडेर रुन थाले।
सुविधासम्पन्न भनेर गएको अस्पतालमै पत्नी गुमाउनुपर्ला भन्ने कल्पनासम्म थिएन उनलाई। पत्नीको पहिलेदेखिको सबै अवस्था बिचार्दा उनी अस्पतालको लापरवाहीले यस्तो अवस्था निम्तिएको निष्कर्षमा पुगे। “नत्र सार्वजनिक बस चढेर सामान्य अवस्थामा अस्पताल गएकी, नर्मल डेलिभरी भएकी मेरी श्रीमतीको ज्यान कसरी जान्छ?” उनी भन्छन्, “त्यहीं गराइएको नियमित जाँचमा पनि सबै कुरा ठीकै थियो।”
घटनापछि उनले थप आफन्तहरू झिकाएर अस्पतालसँग जवाफ र क्षतिपूर्ति मागे। असार ११ गते अस्पताल प्रशासन र दीपकबीच दुईबुँदे सहमति भयो। एक, लक्ष्मीको मृत्युका सम्बन्धमा आन्तरिक छानबिन गरी एक साताभित्र परिवारलाई जानकारी गराउने। दुई, आफ्ना तीनै सन्तानलाई आवासीय विद्यालयमा कम्तीमा १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइदिन दीपकले गरेको माग निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकमा लैजाने।
शोकले शिथिल बनेका दीपकले यति सहमतिपछि आफन्तकै सल्लाहमा अस्पतालबाट पत्नीको शव उठाए। जहारकोटस्थित गाउँ फर्किएर काजकिरिया गरे।
नवजात शिशुलाई यता अस्पतालमै भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शिशुको अवस्था बुझिरहन काठमाडौंमै रहेका आफन्तलाई भनेका दीपक गाउँमै बसेर घरव्यवहार मिलाउँदै थिए। तर ठीक एक महीनापछि साउन १० मा अस्पतालले छोरीको पनि ज्यान गएको खबर पठायो।
दीपक अस्पतालले एकपछि अर्को लापरबाही गरेको आरोप लगाउँछन्। “पहिलेको घटना तोडमोड गर्न शुरूमा बच्चालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने भन्यो। बच्चाको स्थिति कस्तो छ भन्ने हामीलाई जानकारी गराएन। एकैचोटि मृत्यु भएको भन्यो,” उनी भन्छन्।
अस्पतालले भने ३२ दिन भेन्टिलेटरमा राखिएको नवजात शिशुको हेरचाहका लागि परिवार र आफन्त कोही नआएकाले ज्यान गएको भन्दै प्रतिवाद गरेको छ।
अस्पतालले शिशुको शव बुझ्न भनी साउन ११ गते दीपकलाई पत्र लेखेको छ। सोही पत्रमा आन्तरिक छानबिन समितिबाट लक्ष्मीको मृत्युमा चिकित्सकीय कमजोरी नदेखिएको रिपोर्ट आएको पनि उल्लेख गरिएको थियो।
परिवारको असहमति
दीपक साउन २५ गते अस्पताल पुग्दा छानबिन समितिको रिपोर्ट भन्दै हातमा थमाउन खोजियो। रिपोर्टमा डेलिभरी गराउने क्रममा डाक्टर र नर्सहरूको व्यवस्थापनमै प्रोटोकल अनुसार पाठेघर सफा गर्ने र खुम्च्याउने औषधिहरू प्रयोग गरिएको तर सामान्यभन्दा बढी रक्तस्राव भएकाले पुनः परीक्षण गर्दा ‘सर्भिकल टिएर’ देखिएको जनाइएको छ। यसबाट बिरामीलाई जोखिम नहोस् भनेर पाठेघर निकालिएको र शल्यक्रियापछि पेटभित्र कुनै रक्तस्राव नरहेको, पाठेघर राम्ररी खुम्चिएको अवस्थामा रहेको उल्लेख छ।
रिपोर्ट अनुसार साँझ करीब पौने ५ बजेतिर बिरामीको मुटुको धड्कन कम हुँदै ३१ सम्म पुगेकाले तुरुन्तै आकस्मिक औषधिहरू ‘एट्रोपन’ र ‘अड्रेनालिन’ चलाइयो। मृत्युको मूल कारण ‘एमोनिटिक फिल्युड इम्बोलिज्म’ रहेको, यसले रक्तनली र रगतका तत्त्वहरूलाई क्षति गर्ने ‘डिसिमिनटेड इन्ट्राभास्कुलर काउगोलोप्याथी’ हुन गएको र प्रसूति अवस्थामा भएको रक्तस्राव कसै गरी रोक्न नसकिएको अस्पतालको दाबी छ।
दीपक भने त्यहाँ लेखिएको विवरण मान्न तयार छैनन्। उनका अनुसार लक्ष्मीलाई प्रसूति गराउन ९ गते भर्ना गरिएकोमा रिपोर्टमा असार २ मै भर्ना गरिएको उल्लेख छ।
अर्कातिर छानबिन समितिमा अस्पतालले आफ्नै मान्छेहरू मात्र राखेको, प्रसूति गराउनमा संलग्न नर्स र डाक्टर को को हुन् भन्नेबारे जानकारी नै नदिएको उनको आरोप छ। “अस्पतालले आफ्नो लापरवाही लुकाउन राम्ररी छानबिन नै गराएन। घटना विवरण मात्र दियो। यो मान्य हुँदैन,” उनी भन्छन्।
दीपकले निष्पक्ष छानबिन नभईकन शिशुको शव नबुझ्ने अडान लिएका छन्। अस्पतालले चाहिं शव बुझिदिन भन्दै उनको घर रहेको नारायण नगरपालिका, २ नम्बर वडा कार्यालय, नगरपालिका र उनी कार्यरत कार्यालयको इमेलमा पत्र पठाएको छ। प्रहरी गुहारेको छ। “दर्जनौं पटक मृतकको परिवारलाई खबर गर्दा पनि सम्पर्कमा आउनुभएन। त्यसपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरेका हौं,” सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मी भन्छन्। यस घटनामा अस्पतालको कुनै लापरवाही नरहेको दाबी गरेका उनले छानबिन समिति र उपचारमा संलग्न डाक्टर-नर्सबारे भने खुलाउन चाहेनन्।
“यस्तो खालको घटना पहिलो होइन, यो भवितव्य पनि होइन,” रेग्मी भन्छन्, “हामीले सक्दो प्रयास गरेकै हौं। संसारकै सुविधासम्पन्न अस्पतालमा पनि मातृमृत्युदर शून्यमा झरेको छैन। गर्भावस्था आफैंमा जटिल अवस्था हो।” याे समाचार हिमाल खबरबाट लिएको हो
प्रतिक्रिया