दैलेखमा बजार अनुगमन : म्याद गुज्रेका सामग्री नष्ट, तीन पसललाई जरिवाना

दैलेख - जिल्ला प्रशासन कार्यालय दैलेखको संयोजनमा आइतबार (भदौ ८ गते) दैलेख बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ । अनुगमन टोलीले होटल, पसल तथा विभिन्न व्यवसायिक प्रतिष्ठानहरूमा सफा–सफाइ, व्यवसाय दर्ता, मूल्यसूची, कर तिर्ने अवस्था र साइनबोर्ड जस्ता अनिवार्य मापदण्डको निरीक्षण गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.को संयोजकत्वमा प्रशासन कार्यालय, नारायण नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले लोकतान्त्रिक चौकदेखि देवकोटा चौकसम्म अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा १५ वटा पसल,व्यवसाय जाँच गर्दा ३२ हजार ३४८ रुपैयाँ बराबरका म्याद गुज्रेका पेय पदार्थ र खाद्य सामग्री जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, गुणस्तरहीन र म्याद गुज्रेका सामग्री बिक्री गर्ने तीन पसललाई कुल २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बजार अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्ने, करचुक्ता नगर्ने, मूल्यसूची नटाँस्ने, सडक क्षेत्र मिचेर सामान राख्ने, होटलहरूमा सरसफाइ कमजोर देखिने लगायतका कैफियत भेटिएका छन् ।
सहायक प्रजिअ के.सी.ले व्यवसायीहरूलाई सरसफाइमा विशेष ध्यान दिन, दर्ता नगरेका व्यवसाय तत्काल दर्ता प्रक्रियामा सहभागी हुन, तथा साइनबोर्ड अनिवार्य रूपमा राख्न निर्देशन दिएका छन् ।
उनका अनुसार उपभोक्ता हित संरक्षण ऐन २०७५ र नियमावली २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी दिनमा पनि बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाइनेछ
प्रतिक्रिया