वसन्तपुर इन्द्रजात्राका लागि सिङ्गारिँदै

वसन्तपुर इन्द्रजात्राका लागि सिङ्गारिँदै

काठमाडौँ  -  काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नजिकिँदै गर्दा वसन्तपुर क्षेत्रमा जात्राको तयारी द्रुत गतिमा अगाडि बढाइएको छ ।  

 भाद्र शुल्क चतुर्दशका दिन विशेष रूपमा मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत अवलोकन गर्ने परम्परा रहिआएको छ । अहिले अतिविशिष्ट व्यक्तिहरू जाने मुख्य स्थान गद्धि बैठक वरिपरि रङरोगन र सरसफाइको काम भइरहेको छ ।  

त्यसैगरी कुमारी घर र अन्य मठमन्दिरमा पनि सजावटको काम भइरहेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए  । प्रमुख प्रधानका अनुसार रङरोगनसँगै झल्लर राख्ने, बत्ती व्यवस्थापन काम समेत भइरहेको छ ।  

उनका अनुसार जात्रा लगिने विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्नेलगायत कार्य भइरहेको छ । यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ उनले भने ।  

जात्राका पहिलो दिन विभिन्न खाले नाच देखाउने चलन छ । यस दिन लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइन्छन् । यो क्रम जात्राभर कायम रहनेछ ।  

नाच सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा सुरु हुन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टङ्गाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो । करिब ३०० वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ । 

स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आउनुभएको भनाइसँग उक्त एतिहासिक जात्रा जोडिएको छ । 

इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकोलाई काभ्रेको नालास्थित जङ्गलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिङ्गो बनाउने चलन छ । यसरी तयार पारिएको ‘योंसी’ अर्थात् लिङ्गोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने गरिन्छ ।  

इन्द्रजात्रामा मुख्यतः लिङ्गो स्थापना गर्ने, नाचगान गर्ने र रथयात्रा गर्ने गरिन्छ । भाद्र शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वज पतनपछि सकिन्छ । 

प्रतिक्रिया