विभिन्न स्वार्थ समूहका दबाब र चुनौतीका बाबजुद पनि विधेयक संसदमा टेबल गरियो : थापा

काठमाडौँ - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सातै प्रदेश र स्थानीय तहका सुझावलाई समेटेर मोटामोटी प्रतिवेदन (किताब) तयार गरिएको बताएका छन् । सोसेक नेपालको २८औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन समारोहमा थापाले सोही आधारमा विधेयकलाई अगाडि बढाउने वातावरण बनेको उनले स्पष्ट पारे।
थापाका अनुसार, शिक्षा सम्बन्धी विधेयकलाई अघि बढाउने क्रममा विभिन्न स्वार्थ समूहका दबाब र चुनौतीका कारण केही महिना प्रभावित हुनुपरेको थियो। “कहिले सरकारले स्वीकार गर्दैन, कहिले शिक्षक पक्ष मान्दैन । यस्तो अवस्थाले तीन–चार महिना खेर गयो,” उनले भने, “तर यस्ता चुनौतीका बाबजुद राष्ट्र निर्माणका लागि शिक्षा अपरिहार्य भएकाले हामी दृढतापूर्वक अघि बढ्यौं।”
उनले संसदको पूर्ण बैठकमा विधेयक प्रस्तुत भइसकेको बताउँदै अब अझै सुधारसहित अगाडि बढाउने अवसर रहेको उल्लेख गरे। “सानातिना केही कुरा छुटेका हुन सक्छन्, तर पनि भोलिका दिनमा ती बुँदालाई समेट्दै अघि बढ्नेछौं,” थापाले स्पष्ट पारे।
शिक्षा समितिका सभापति थापाले विद्यालय शिक्षा विधेयकले अब शिक्षकलाई विद्यार्थीप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “शिक्षा सीपमूलक हुनुपर्छ, जागिरेमुखी नभई उत्पादनमुखी बनाउनुपर्छ भन्ने अवधारणा विधेयकको मूल प्रस्तावनामा नै समावेश गरिएको छ।”
प्रतिक्रिया