परीक्षा दिन काठमाडौं आएका नेपालगञ्जका सुलभ सँधैका लागि अस्ताए

काठमाडौँ - काठमाडौंमा भएको जेनजी आन्दोलनमा नेपालगञ्ज उपमहानगरपालिका–१ का युवा सुलभराज श्रेष्ठले सहादत प्राप्त गरेका छन् । उनी नरेन्द्र श्रेष्ठ र बिनिता खड्काका एक्ला छोरा थिए ।
काठमाडौंमा इन्जिनियर पढिरहेका सुलभ केही साताअघि घरबाट परीक्षा दिन काठमाडौं गएका थिए । तर सोमबार उनको दुखद निधन भएपछि परिवारमा बज्रपात परेको छ । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।
काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ पढ्दै थिए सुलभ । उनका बुवा नरेन्द्र नेपालगञ्जमा भेरी बोर्डिङ स्कुलका सञ्चालक हुन् । बुवाआमाको आशा, परिवारको गर्व र साथीहरूको आदर्श थिए सुलभ ।
छोराको खबर सुनेर आमा विनिता अहिलेसम्म बेहोस छिन् । बुवा भने छोराको शव बुझ्न काठमाडौं हिँडेका छन् । घरमा आफन्त र छिमेकीहरूको भिड लागेको छ । सुलभ पढाइमा निकै जेहेन्दार र मिहेनती थिए । उनी भिन्न सपना बोकेको युवा भएको छिमेकीसमेत रहेका वडाध्यक्ष प्रमोद रिजालले बताए ।
‘यस्तो पीडा कसैले कल्पना पनि गरेको हुँदैन, अहिले नेपालगञ्जको धम्बोझी बस्ती शोकमा डुबेको छ’, उनले भने । रिजालका अनुसार नरेन्द्र नेपालगञ्जबाट हवाइमार्ग हुँदै साँझ ६ बजे काठमाडौं प्रस्थान गरेका हुन् । उनी भन्छन्, ‘सुलभ हाम्रो वडाको मात्र होइन, भविष्यको अभियन्ता थिए । आज हाम्रो गाउँको उज्यालो हरायो ।’
सुलभ खेलप्रेमी थिए । कलेज नभएको समयमा उनी यहाँ आएर शिक्षणसमेत गर्ने गर्दथे । श्रेष्ठ परिवारलाई नजिकबाट चिनेका पत्रकार झलक गैरेका अनुसार उनी अमेरिका जाने अन्तिम तयारीमा थिए ।
‘इन्जिनियरिङको परीक्षा सकाएर अमेरिका जाने तयारीमा थिए, उता जागिरसमेत कन्फर्म भएको थियो,’ उनले भने ।
प्रतिक्रिया