यातायातलाई व्यवस्थित बनाउन पहल

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन पहल गरेको छ । नारायण नगरपालिकाका मेयर लोमन शर्मा र सरोकारवावाहरुको उपस्थितिमा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गौतमको अध्यक्षतामा मंगलबार बसेको बैठकले यातायातलाई व्यवस्थित बनाउन १७ बुदे निर्णय गरेको छ ।
जिल्लाभित्र चलिरहेका सडकहरुको स्तरोन्नती, यात्रा दूरी लगायतका विषयलाई बिश्लेषण गरी भाडादर पुनारावलोकन गर्ने र यातायातलाई व्यवस्थित बनाउन एक महिनाभित्र राय सुझाव दिनुपर्ने समयसिमा तोकी सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा ट्राफिक प्रहरी, पूर्वाधार कार्यालय र यातायाता व्यवसायी समेत संलग्न कार्यदल बनाइएको छ । यातायात व्यवसायीहरुले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने, यातायातका साधनहरुको यान्त्रिक अवस्था, विमा, गाडीको कागजजात अध्यावधिक गरिरहन, चालक अनुमतीपत्र बाहकले मात्र यातायातका साधन चलाउने, टाइम कार्डको लागू गर्ने जस्ता दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अनुगमन गर्ने निर्णय भएको थियो ।
साथै दर्ता भएको प्रयोजन अनुसार सवारी साधन चलाइनुपर्ने, यातायात व्यवस्था ऐन अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, द्वन्द्व तथा जनआन्दोलनका घाइतेहरुलाई दिनुपर्ने भाडामा छुट दिनुपर्ने, मध्यपहाडी राजमार्ग लगायतका कालोपत्रे भएका सडकहरुमा सार्वजनिक यातायात सञ्चालन गर्न रुट प्रमिट दिन यातायात व्यवस्था कार्यालय सुर्खेतलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया