हिमामा ‘सुनौं महिनावारीका कुरा’ अभियान सुरु

हिमामा ‘सुनौं महिनावारीका कुरा’ अभियान सुरु

जुम्ला –   नेपालको संविधानले समानताको हक (धारा १८), स्वच्छ वातावरणमा बाँच्ने हक (धारा ३०) र महिलाको हक (धारा ३८) जस्ता मौलिक हकको प्रत्याभूति गरे पनि समाजमा अझै महिनावारी सम्बन्धी विभेद कायमै छ। यो विभेदका कारण ग्रामीण महिलाहरू शिक्षा, स्वास्थ्य, आवास, पोषण र स्वच्छ वातावरणको हकबाट वञ्चित हुँदै आएका छन्।

यसै सन्दर्भमा जुम्लाको हिमा गाउँपालिकाले सामाजिक कुरीति अन्त्य गर्दै महिलालाई सशक्त बनाउन ‘सुनौं महिनावारीका कुरा’ नामक जनचेतनामूलक बहस कार्यक्रम सुरु गरेको छ । सुस्वा परियोजनाको प्राविधिक सहयोगमा सुरु गरिएको अभियानको पहिलो कार्यक्रम आइतबार वडा नं ३ स्थित राहदेव मावि मोफलामा सम्पन्न भएको छ 

कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही, महिला अभियन्ता लक्ष्मीकन्या बुढा, स्थानीय धामी देउमले सार्की, र डा. कालिका खेतु स्वास्थ्य केन्द्रका प्रतिनिधि वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण पत्रकार नौरते नेपालीले गर्नुभएको थियो ।

अध्यक्ष शाहीले हिमाले सामाजिक विकास र महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेर महिनावारी विभेद अन्त्यका लागि नीति निर्माणदेखि धामी(झाँक्री सम्मेलनसम्म आयोजना गरेको बताउनुभयो । उहाँले अहिले गाउँ(गाउँमा चेतना फैलाउने अभियान थालेको जनाउँदै सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

महिला अभियन्ता बुढाले सामाजिक अन्धविश्वास, अशिक्षा र परम्परागत सोचका कारण महिनावारी विभेद कायम रहेको उल्लेख गर्दै यसप्रति गम्भीर चेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । बहसमा रादेउ देवताका मुलधामी देउमले महिनावारी र देवता रिसाउने भन्ने भ्रम पूर्णतः गलत रहेको स्पष्ट पार्नुभयो ।

डा. खेतुले महिनावारी महिलाको स्वाभाविक जैविक प्रक्रिया भएको र यसबाट डर होइन, समझदारी र सम्मान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेकी वास संयोजक सुमिता शाहीले चेतनाको कमी र मनको डरले विभेद बढिरहेको उल्लेख गर्दै सुस्वा परियोजनाले विभेद न्यूनीकरण र महिला सशक्तिकरणमा निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो । 
 

प्रतिक्रिया